चलचित्र संघको सहयोग बाढीबाट प्रभावितलाई
बाढीबाट प्रभावित भएका जनताका लागि विभिन्न चलचित्रसँग सम्बन्धित संघ-संस्था र चलचित्रकर्मीहरुले व्यक्तिगत सहयोग घोषणा पनि गरिरहेका छन् । स्वेता खड्काले १ लाख, पूजा शर्माले १ लाख, दीपकराज गिरीले १ लाख, दीपाश्री निरौलाले ५१ हजार, प्रियंका कार्कीले ५१ हजार, चलचित्र कलाकार संघले ६५ हजार, भद्रगोल टिमले ५१ हजार, निर्देशक द्वय निश्चल बस्नेत र आशिफ शाहले नगद ५०–५० हजार सहयोग घोषणा गरिसकेका छन् ।
बाढीबाट प्रभावित भएका जनताका लागि नेपाल चलचित्र संघले राहत कोष स्थापना गरेको छ । चलचित्र संघले नगद १ लाख, क्यूएफएक्सले १ लाख, बीके फिल्मसले १० हजार गरि कूल २ लाख १० हजारबाट राहत कोष स्थापना गरिएको संघका अध्यक्ष प्रदीप उदयले जानकारी दिए । साँझसम्ममा संघका अन्य सदस्यहरुले व्यक्तिगत सहयोग गर्ने पनि उदयले बताए ।
उनले भने, ‘बाढीबाट प्रभावित भएका जनताका लागि हाम्रो यो सानो सहयोग हो । बाढी पीडितको उद्धारमा जान नसकेपनि हाम्रो यो सहयोगले केहीको परिवारमा खुसी ल्याउन सकिन्छ । हाम्रो लक्ष्य १० लाख संकलन गरेर बाढी प्रभावितलाई वितरण गर्ने हो ।’ उनका अनुसार, राहत कोषमा संकलन भएको रकम बाढी पीडितका लागि काम गर्दै आइरहेको संस्था एनएफसिसीलाई हस्तान्तरण गरिनेछ ।